काठमाडौं– नेकपा एमालेका सांसद भीमबहादुर रावलले नेपालमा कति जनाले नागरिकता पाएका छैनन् त्यसबारे छानबिन गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै सांसद रावलले उक्त माग गरेका हुन्। उनले नागरिकता नपाएका र कति जनाले गैर कानुनी रुपमा नागरिकता लिएका छन् त्यो विषयमा पनि छानबिन गर्नुपर्ने माग गरेका छन्।
उनले राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनु संवैधानिक दायित्व भएको पनि बताएका छन्।
उनले भारत, बंगालादेश, भुटान, मादिभ्सलगायतका देशहरुमा त्यहाँका नागरिकसँग विवाह गर्ने विदेशी महिलाले राजनीतिकबाहेकका अधिकार प्राप्त गर्ने प्रावधान रहेको भन्दै नेपालमा पनि सात वर्षपछि अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान राखौं भन्दा कसरी गलत हुन्छ? भन्दै प्रश्न गरे।
‘त्यसलाई गलत भन्नु भनेको जनसंख्याको आधारमा चिरकाल रुपमा नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसाय हो’, उनले भने।
उनले वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नहुने तर विदेशी नागरिकलाई नागरिकता दिन नहुने बताए। नागरिकताजस्तो संवेदशील विषयमा भरपूर छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले समितिमा पनि नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई कम्तिमा पाँचदेखि सात वर्षसम्मको अवधिपछि मात्र नागरिकता दिने सहमति भएको स्मरण गराए।
उनले पाँच दलकै संयन्त्रबाट जुनसुकै फैसला हुने भए राजतन्त्र किन समाप्त पारेको भन्दै सरकारलाई प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।