काठमाडौं- नकेपा माओवादी केन्द्रले बिहीबार स्थायी समिति बैठक बोलाएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ। उक्त बैठकबाट पदाधिकारी टुंगो लगाउने बताइएको छ। बुधबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी प्रवक्ता कृष्णबहादुर महरालले बिहीबार पदाधिकारी टुंगिने बताएका थिए।
यसअघि पनि पटक-पटक पदाधिकारी चयन गर्न बैठक बसेपनि आन्तरिक प्रतिष्पर्धा व्यवस्थापन गर्न नसक्दा पदाधिकारी चयन हुन सकेको थिएन।
सबैभन्दा पहिले २०७८ माघ ८ गते अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले एक सर्कुलर जारी गरेर पदाधिकारी चयन गर्ने भनेका थिए। त्योबेला जारी सर्कुलरमा भनिएको थियो, 'माघ २७ को बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीको निर्वाचन गर्नेछ।'
उक्त बैठक मात्रै होइन, त्यसपछि पनि पटक-पटक पदाधिकारी चयन गर्ने प्रयास गरेपनि उनी सफल हुन सकेनन्। किनभने सबैभन्दा सकसमा पर्यो महासचिव पद। उक्त पदका लागि वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेललगायतले आकांक्षा राखेका थिए। आकांक्षीमध्ये सबैभन्दा तीव्र प्रतिष्पर्धा पुन र शर्माबीच भइरहेको छ।
महासचिवमा 'महाभिडन्त'को कारण महासचिव एउटा पद मात्रै होइन, प्रचण्डको उत्तराधिकारी समेत हो। त्यो भिडन्त माओवादी जनमुक्ति सेनाका पूर्वकमाण्डरहरु शर्मा र पुनबीच लामो समयदेखि छ। माओवादी युद्धको सैन्य कमाण्डर नै माओवादी केन्द्रको आगामी कमान्डर हुनुपर्ने आवाज उठेपछि यी दुईमध्ये प्रचण्डले एक रोज्ने आकलन हुँदै आएको छ।
महासचिव पुन र शर्माबीचको महासचिवको आकांक्षा आन्तरिक प्रतिष्पर्धामै सीमित रहेन, बाहिर पनि दुवैले एकअर्काविरुद्ध बोल्न थाले। महासचिवमा एकले अर्कोलाई रोक्न खोजेको आशंकाका कारण सञ्चारमाध्यममासमेत उनीहरुले एकअर्काविरुद्ध तीतो पोखेका हुन्। राष्ट्र बैंकका महानिर्देशक प्रकरणमा उनीहरुको टिप्पणी र प्रतिटिप्पणी नै चलेको थियो।
उनीहरुको प्रतष्पर्धा चर्को बनेपछि प्रचण्डले अर्को विकल्प खोज्नसक्ने देखिएको छ। माओवादी केन्द्रका एक नेताका अनुसार एउटालाई महासचिव बनाउँदा अर्को रिसाउने देखिएकाले विकल्पमा छलफल चलेको हो।
यसअघि पार्टी महासचिव भइसकेका कृष्णबहादुर महरा फेरि त्यही पदमा ल्याउने विकल्प प्रचण्डसँग छ। अहिले प्रवक्ता रहेका उनलाई महासचिव बनाएर पुन र शर्मालाई उपमहासचिव बनाउने सम्भावना समेत कायम रहेको माओवादीका नेताहरु बताउँछन्। महासचिवकै लागि अर्को विकल्प पम्फा भुसाल हुन्।
शर्मा र पुनलाई उपाध्यक्षमा उकालेर भुसाललाई महासचिव बनाउँदा राम्रो सन्देश जाने भन्दै केही नेताहरुले सुझाव समेत दिएका छन्। उनीहरु बाहेकको बलियो विकल्प देव गुरुङ हुन्। उनले आकांक्षा समेत दर्शाएका छन्। प्रचण्डका लागि काम गर्न सहज पनि गुरुङ नै हुन्छन्। पार्टीमा श्रेष्ठ र महरापछि पाका नेता पनि उनी नै हुन्। महासचिवमा प्रतिष्पर्धीबाट एक छान्दा निर्वाचनको संघारमा अन्तरद्वन्द्व चर्किन सक्छ। त्यसैले गुरुङ अगाडि सारेर अन्यको प्रतिष्पर्धा स्थगित गर्न सक्ने आकलन गरिएको छ।
महासचिवका लागि पूर्व कोषाध्यक्ष हरिबोल गजुरेल, नेताहरु गिरिराजमणि पोखरेल र शक्ति बस्नेत समेत आकांक्षी छन्। उनीहरुले पदाधिकारीमा अवसर पाउने भने निश्चित जस्तै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।