काठमाडौं– आज बिहीबारदेखि छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला सुरु हुँदैछ।
मेला यही भदौ ६ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ। व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता रहनेछ।
नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्न मेला हुन लागेको हो। महिला उद्यमी महांसघ नेपाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सानिमा बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ प्रालिले संयुक्तरूपमा मेला प्रायोजन गरेका छन्।
मेलामा हस्तकलाका सामानहरू प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।