फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति केका लागि गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका छन् । जसपाका पूर्वमन्त्री हेमराज राईसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले नेकपा सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा रहेको बताए ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवातर्फ लक्षित हुँदै भने, ‘कोही राजनीति आफ्ना लागि,आफ्ना स्वार्थको लागि, आफ्ना छोरी-बुहारीका लागि, आफ्ना श्रीमती, साला-बुहारीका लागि, आफ्ना नातागोता, इस्ट-मित्रका लागि गर्छन् । हामीले त्यस्तो राजनीति गर्ने होइन । हामीले देशका लागि र जनताका लागि राजनीति गर्नुपर्छ ।’ उनले, उनकै शब्दमा , अग्रगमन र विकासका लागि राजनीति गर्नु पर्नेमा जोड दिए ।
समाजमा रुपान्तरण र परिवर्तनका लागि राजनीति गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले जनतालाई ढाँट, छल गर्नका लागि राजनीति नभएको बताए । उनले केही मान्छेले 'पेड' राजनीति गरेको आरोप पनि लगाए । हिमाल, पहाड तराईमा हेर्दा र कार्ययोजना, उद्देश्य, आदर्शका हिसाबले पनि एमालेसँग कसैको तुलना नहुने उनले दाबी गरे ।
उनले देशको रक्षा, सुदृढिकरण, समृद्धि र राष्ट्रिय स्वाभिमानका साथै भ्रष्टाचार निर्मूल गर्न, समृद्धि हासिल गरेर समृद्ध नेपाल बनाउने गन्तव्यसहित नेकपा एमाले अगाडि बढेको बताए । ओलीले एमालेले सामाजिक सद्भावमा आधारित एकता कायम गरिरहेको बताए । एकतावद्ध तरिकाबाट राष्ट्रको विकास र सुशासन कायम हुने र यसबाट मात्रै सुखी नेपाली समृद्ध नेपालको गन्तव्यमा पुग्न सकिने उनकाे भनाइ थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।