काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय बालकुमारीमा बुधबार र बिहीबार बैठक चल्ने जसपाका एक सदस्यले जानकारी दिए।
बैठकको मुख्य अजेण्डा आगामी मंसिर ४ मा हुने निर्वाचन रहेको छ। त्यस्तै सत्ता गठबन्धनभित्र भागवन्डामा गर्ने दाबीबारे पनि छलफल हुने बताइएको छ।
बिहीबारसम्म चल्ने बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको तयारी बारेमा छलफल गर्ने, सत्ता गठबन्धनभित्र सिट र उम्मेदवारीको मापदण्ड तय गर्ने तथा संगठन विस्तारलाई अझै सक्रिय रुपमा सञ्चालन गर्ने र विभाग तथा अन्य भातृ संगठनहरु पुनर्गठनलगायतका अजेण्डामा छलफल हुनेछ।
बाबुराम भट्टराईसँग अलग भएपछिको अवस्थामा पार्टीको संगठन कसरी अघि बढाउने भन्ने बारेमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
उनले आगामी रणनीति र पार्टीको संगठनको बारेमा पनि प्रतिवेदन पेस गर्नेछन्। उक्त प्रतिवेदन राजनीतिक समितिमा छलफल गर्दै अन्तिम निर्णय गरिने छ।
उक्त बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको मापदण्ड पनि तय गर्ने र गठबन्धनसँग कति सिट दाबी गर्ने भन्ने निर्णय पनि गर्ने बताइएको छ।
जसपाको १५१ सदस्यीय राजनीतिक समिति छ। यो केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राईले गामी रणनीतिबारे चर्चा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।