काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज बुधबार पनि फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा लगिँदैछ। तर, स्थानीयको अवरोध कायमै रहेकाले आज पनि प्रहरी परिचालन गरेर लैजान लागिएको हो।
प्रहरी प्रशासनको सहयोगमा मंगलबार १८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो। स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो। केही राउण्ड हवाई फायर समेत गरिएको थियो।
सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका माग पूरा हुनुपर्ने बताउँदै स्थानीले सडकमा अवरोध गर्दै आएका छन्।
सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायब निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरू बुधबार पनि डाँडामा जम्मा भएर बसेका छन्। ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्।
नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्। कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन्।
यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर ढुवानी गरेर ल्यान्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने आफ्नो उद्देश्य नरहेको बताएका छन्। ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्। यो हाम्रो प्रतिवद्धता हो। प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ’, मेयर शाहले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।