काठमाडौं– काठमाडौं महानगरपालिकाको २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा वेरुजु फर्स्यौट भएको छ।
आर्थिक वर्ष २०७३/०७४ देखि ०७६/०७७ सम्म ४ वर्षको ४ अर्ब ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो। यसबाट फर्स्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ बेरुजुमा आर्थिक वर्ष २०७७/०७८ को १ अर्ब ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ बेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार अब महानगरले फर्स्यौट गर्नुपर्ने बेरुजु ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ।
‘बेरुजु फर्स्यौटमा हामीले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण हो। यति ठूलो रकम फर्स्यौट न विगतमा भएको थियो। सम्भवतः न भविष्यमा हुन्छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, ‘धेरै मिहिनेत र सामूहिक प्रयासले यो सम्भव भएको हो। कतिपय बेरुजु प्रक्रियामा आवश्यक पर्ने कागजपत्र नभएर पनि देखिएको छ। प्रक्रियागत सामान्य सुधारबाट पनि बेरुजुको संख्या कम गराउन सकिन्छ। विगतको सिकाइबाट वित्तिय सुशासनमा हामी कडाईका साथ काम गर्नेछौँ।’
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/०७४ देखि काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो। त्यसपछिका आर्थिक वर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ।
जसअनुसार सुरुको वर्ष अर्थात् आर्थिक वर्ष २०७३/०७४ सम्म भएको १ अर्ब १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ बेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा फर्स्यौट भएको थियो। समपरीक्षण एकाईका प्रमुख पोखरेलका अनुसार यो वर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेस नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपैयाँ थियो।
आर्थिक वर्ष २०७४/०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार बेरुजु रकममा १९ करोड ४४ लाख ३१ हजार ५७७ रुपैयाँ ३३ पैसा फर्स्यौट भएको छ। यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेस नभएको रकम भएको पोखरेलको भनाइ छ।
यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा औंल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फर्स्यौट भयो। यसमा ८४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमिता भएको र १३ करोड ६ लाख २८ हजार रुपैयाँ प्रमाण कागजपत्र पेस नभएको बेरुजु थियो।
आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ बेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फर्स्यौट भएको छ। उठान भएको बेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेस नभएको वेरुजु रकम थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।