काठमाडौं– निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका तर निर्वाचनपछि खर्च विवरण नबुझाउने उम्मेदवारविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको छ।
निर्वाचन आयोगका अनुसार एक लाख २३ हजार ७८३ जना उम्मेदवारले खर्च विवरण हालसम्म बुझाएका छैनन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले कारबाही प्रक्रिया आरम्भ गरेको जनाएको छ।
निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा एक महिनाभित्र नबुझाएका उम्मेदवारविरुद्ध के कति कारणले तोकिएको समयभित्र विवरण नबुझाएको हो? भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।
‘निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८,६५२ जना समेत कूल जम्मा १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईंहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? भनी आफ्नो सफाईसहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ।
यस्तै निर्वाचनमा उम्मेदवार बनेका २१ हजार २३० जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएका छन्। खर्च विवरण बुझाएकाको हकमा भने निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको कार्यालयमा र वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइएको छ।
सरी निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने उम्मेदवारको नाम थर, स्थानीय तह, उम्मेदवार भएको पद र निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको मितिसहितको एकीकृत विवरण तयार गरी यथाशिघ्र आयोगमा पठाउने गरी सबै निर्वाचन कार्यालयलाई पनि आयोगले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।