काठमाडौं– गत आर्थिक वर्षमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्यांक अनुसार गत वर्ष १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो।
गत वर्ष रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको हो अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर ३ लाख ५४ हजार ६६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भइ २ लाख ८२ हजार ४५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो।
समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले बढेर ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।