काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आवको १२ महिनाको वर्तमान आर्थिक अवस्था सार्वजनिक गरेको छ। पछिल्लो केही महिनायता देशको शोधनान्तर स्थितिमा सुधार देखिएको छ। आयातमा कडाइ गरिएको कारण पछिल्लो समय शोधनान्तर स्थितिमा केही सुधार देखिएको हो।
गत वैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत दुई महिनामा केही सुध्रिएर २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा देखिएको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार असार मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालू खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो। चालू खाता घाटा भने लगातार बढ्दो क्रममा नै देखिन्छ।
समीक्षा वर्षमा पूंजीगत ट्रान्सफर ३४.५ प्रतिशतले घटेर ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड कायम भएको छ। अघिल्लो वर्ष पूंजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १३.१ प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ।
कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ।
२०७९ असार मसान्तको कूल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहकाे राष्ट्र बैंकले नाएकाे छ ।
२०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितीको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।