रामेछाप– नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त' ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने दाबी गरेका छन्।
१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउने जिकिर गरे।
प्रचण्डकै नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनको भनाइ छ।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक–पटक आफूहरु राष्ट्रपति हुनुमा माओवादीकै योगदान रहेको बताउँदै आएको उल्लेख गरे।
पूर्वराष्ट्रपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्याएको बताउने गरेको पुनले स्मरण गराए। ०५१ सालको संसद्मा ७ जना र ०५६ को संसद्मा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी अजेन्डाका कारण हाल संसद्मा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको दाबी गरे।
महिलाको नाममा धनी पूर्जाको नीतिले छोरीहरु सम्पत्तिको मालिक भएको, अंश र वंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ता उपलब्धी माओवादीकै कारण आएको उनले चर्चा गरे।
माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै आपत्ति जनाए। ‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो,’ उनले भने, ‘अहिले प्रचण्डलाई धेरै गाली गरेको सुनिन्छ। तर, समाज रुपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोक–चोकमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउँछ।’
दोरम्बा घटना मानवताविरोधी अपराध
पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएकाले संक्रमणकालीन कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे। सरकार–माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए।
‘अन्तरराष्ट्रिय समुदायले उतिबेलै युद्धबिराम सम्झौता उल्लंघन गरेर निशस्त्र अवस्थामा गिरफ्तारीपछि भएको दोरम्बा हत्याकाण्ड मानवताविरुद्धको अपराध भएको बताएको थियो । सैनिक जनरलहरुले पनि माथिको आदेशबिना भएको घटनामा गल्ती भएको हो भन्नुभएको छ,’ पुनले भने, ‘यस्ता घटनामा संलग्नहरुलाई नसिहत हुनुपर्छ, कारबाही हुनुपर्छ।’
माओवादी र सरकारबीच दाङको हापुरेमा दोश्रो चरणको शान्ति वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले तत्कालीन रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ माओवादी कार्यकर्तालाई निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो।
आफूहरुले जनयुद्धका क्रममा जेनेभा महासन्धिको पूर्ण पालना गरेको दाबी पुनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।