काठमाडौं– 'कुल्ली मेयर' का नामले चिनिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख राई बस्तीस्तरमै आफैं काम गर्न खटिने भएकाले हरेक दिन चर्चामा आइरहन्छन्।
उनले मंगलबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका हुन्। भेट कुन विषयमा भयो भन्ने कुरा अहिलेसम्म जानकारी दिइएको छैन। तर, उनले प्रचण्डसँग भेटेर हात मिलाएको तस्बीर भने सामाजिक सञ्जालमा राखिएको छ।
प्रचण्डको सचिवालयले उक्त तस्बीर सार्वजनिक गरेको हो। काकाकुल धरानवासीको खानेपानीको र स्थानीय तहमा हुने अनियमितताको मुद्दा उठाएर निर्वाचनमा होमिएका साम्पाङ मेयर पदमा विजयी भएका थिए।
आइतबार काठमाडौं आएका मेयर साम्पाङले काठमाडौंको अव्यवस्थित फोहोरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। उनले काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागेको प्रतिक्रिया दिएका थिए।
उनले दुई दिनयता सञ्चारकर्मी र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।