काठमाडौं– डा बाबुराम भट्टराईसँग एउटै निर्वाचन चिह्न र साझा घोषणापत्रबाट निर्वाचन लड्ने सहमति गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बीचमा आफूहरु कोही पनि ‘यू-टर्न’ नहुने बताएका छन्। मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा दुई नेताले नारायणकाजी श्रेष्ठ र महिन्द्र राय यादव समेतको उपस्थितिमा छलफल गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले बीचमा आफूहरुले ठक्कर खाएको बताए।
‘तीता मिठा अनुभव भएको हुनाले देशले पनि अलि दुःख पायो। हामी मिल्दा देश र जनताले केही न केही राहत पाउने स्थिति बनाउन सकिन्छ। र समृद्धिको यात्रा पनि नयाँ ढंगले सुरु गर्न सकिन्छ भन्ने भएको हुनाले ठेस लागेपछि बुद्धि बढ्छ भने जस्तै हामी सबैलाई ठेस लाग्यो। बुद्धि बढेको छ। अब त्यस्तो (छुट्टिने) हुँदैन’, प्रचण्डले भने।
प्रचण्डले अहिले वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र आफू सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्त्व रहेको उनको दाबी छ। ‘हामी उभियौँ अब। कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो भनेर भन्न चाहन्छु’, उनले भने।
प्रचण्डले आज नै पार्टी एकता भने नभएको बताए। ‘चुनाव पछाडि हामीले एउटै केन्द्र बनाउने भन्ने समझदारीमा गएका छौँ। अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ। यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने, विकास गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको यात्रामा लैजाने कुरामा पनि निकै ठूलो महत्त्व छ भन्न चाहन्छु’, उनले भने।
मंगलबार मात्रै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने भनेर निर्वाचन आयोगमा निवेदन दिएका छन्। त्यसपछि पेरिसडाँडामा भेट भएको हो।
छलफलबाट बाहिरिने क्रममा भट्टराईले भने तत्काल चुनावी प्रयोजनका लागि मात्रै एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताएका थिए। ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिह्न, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने हाम्रो सहमति भएको छ’, भट्टराईको भनाइ थियो, ‘त्यहीअनुसार निर्वाचन आयोगमा आवेदन दिएका छौँ। यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो।’
उनले राजनीतिक ध्रुवीकरणको लक्ष्य राखिएको बताए। ‘हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनका अजेन्डाहरु बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी सबैले एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएको हुनाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले हामीले यसलाई लिएका छौँ’, उनले भने, ‘आगामी दिनमा एउटा बृहत् राजनीतिक अग्रमागी शक्तिहरुको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन र समृद्धिको दिशामा लिएर जाने हाम्रो संकल्प छ।’
उनले सिटको विषय छलफलपछि टुंगो लगाइने बताए। ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो। त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौँ भन्ने हामीलाई विश्वास छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।