काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। भेटपछि प्रतिक्रिया दिँदै भट्टराईले तत्काल चुनावी प्रयोजनका लागि मात्रै एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए।
'नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिह्न, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने हाम्रो सहमति भएको छ', उनले भने, 'त्यही अनुसार निर्वाचन आयोगमा आवेदन दिएका छौं। यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो।'
उनले राजनीतिक ध्रुवीकरणको लक्ष्य राखिएको बताए। 'हाम्रो लक्ष्यचाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनका अजेन्डाहरु बाँकी छन्। त्यसलाई पूरा गर्नका निम्ति हामी सबैले एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएको हुनाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले हामीले यसलाई लिएका छौं', उनले भने, 'आगामी दिनमा एउटा बृहत् राजनीतिक अग्रगामी शक्तिहरुको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन र समृद्धिको दिशामा लिएर जाने हाम्रो संकल्प छ।'
उनले सिटको विषय छलफल पछि टुंगो लगाइने बताए। 'मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो। त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौं भन्ने हामीलाई विश्वास छ', उनले भने।
पेरिसडाँडामा छलफलका लागि डा बाबुराम भट्टराई, महिन्द्रराय यादव र गंगा श्रेष्ठ पुगेका थिए। श्रेष्ठचाहिँ छिट्टै फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।