काठमाडौं– नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलबार निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन्।
दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो। मंगलबार बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो।
नेसपा अध्यक्ष डा. भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए। दल दर्ताका लागि मंगलबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए।
आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल मंगलबारसम्म दर्ता हुनेछन्। आगामी निर्वाचनका लागि कांग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन्।
नेपाली कांग्रेसले पनि मंगलबार नै दल दर्ता गराउनेछ। निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्मका लागि दल दर्ता गर्ने समय दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।