काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा बाबुराम भट्टराई र महेन्द्र राय यादव माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन्।
मंसिर ४ मा हुँदै गरेको निर्वाचनमा नेपाल समाजवादी पार्टीले पनि माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। त्यसका लागि दुवै पार्टीका प्रतिनिधिले निर्वाचन आयोगमा मंगलबार नै निवेदन दिइसकेका छन्।
आयोगमा निवेदन दिएलगत्तै नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पेरिसडाँडामा छलफलमा जुटेका हुन्। उनीहरु साढे ३ बजेतिर पेरिसडाँडा पुगेको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
'डा बाबुराम भट्टराई, महिन्द्रराय यादव र गंगा श्रेष्ठ आउनुभएको थियो। श्रेष्ठचाहिँ फर्किसक्नुभएको छ', उनले भने, 'अहिले अध्यक्ष प्रचण्ड, बाबुराम तथा महेन्द्र राय यादवबीच छलफल चलिरहेको छ।'
नेपाल समाजवादी पार्टीको अतिरिक्त वामदेव गौतमले पनि माओवादी केन्द्रकै चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।