काठमाडौं– मंगलबार निर्वाचन आयोगमा पुगेर फर्किने क्रममा आयोग परिसरमै पत्रकारहरुले वामदेव गौतमलाई गठबन्धनले ल्याउने सिट सोधे। उनले सहजै जवाफ दिए। गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ नदेख्ने उनको भनाइ थियो।
‘मैले भन्दा धेरै मान्छे रिसाउन पनि सक्छन्। एमालेका मान्छेहरु पनि रिसाउन सक्छन्। साँच्चै र इमानदारीका साथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ मैले देख्दिनँ। तर यहाँभित्रै छिद्र पैदा हुने, अन्तर्घात गर्ने, विद्रोही उठ्ने भयो भने त्यसबाट फाइदा पुग्ने अरुलाई हो। त्यो फाइदा पुगे पनि गठबन्धन धेरै अगाडि हुन्छ’, उनले भने।
अन्य सबालको सहज जवाफ दिइरहेका गौतमलाई पत्रकारले सोधे- ‘सांसद भएर आएर प्रधानमन्त्री बन्ने तपाईंको सपना बाँकी छ, त्यो पूरा हुनका लागि...?’ त्यसपछि गौतमले रोक्दै भने, ‘प्रधानमन्त्रीको कुरै नसोध्नुस्। (औंलाले मुख छोप्दै) म चुप। त्यो भन्दा बित्तिकै मेरो सबै काम बिग्रिन्छ।’
२०७४ को निर्वाचनअघि पनि गौतमले सार्वजनिक रुपमै निर्वाचनपछि आफू पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना व्यक्त गरेका थिए। तर, पार्टी नेतृत्वले त्यो अभिव्यक्ति सुनेपछि आफूलाई अन्तर्घात गरेर हराएको उनको भनाइ छ। त्यसैले उनी यसबारेमा बोल्न नचाहेका हुन्।
गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्। उनी सो सभाबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट उम्मेदवार बन्ने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।