काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू माओवादी केन्द्रमा प्रवेश नगरेको प्रतिक्रिया दिएका छन्। निर्वाचन आयोगमा पुगेका नेता गौतमले आफू गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नमा निर्वाचन लड्ने भए पनि माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताए।
उनले पहिले पनि आफू गोलाकारभित्र हसिया हथौडा चिह्नमा नै निर्वाचन लडेकाले यसपटक पनि सोही चिह्न लिएर निर्वाचनमा उत्रिने बताए।
उनले निर्वाचन आयोग पुगेर पत्रकारसँग कुरा गर्दै आफू माओवादीमा प्रवेश गरेको नभइ निर्वाचन चिह्नमात्र लिएको प्रतिक्रिया दिएका हुन्।
‘म सत्ता गठबन्धनको सदस्य होइन। म त्यहाँ जादिनँ,’ उनले भने, ‘मेरो माओवादी केन्द्रसँग मात्र गठबन्धन हो। चुनावपछि नेकपा ब्यूँताउने हो, अनि एउटै दल बनाउने हो।’
नेकपालाई पुनस्थापना गर्ने नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ। उनले यो अभियानमा आफू नेकपा विभाजन भएदेखि नै सक्रिय रहेको दावी गरे। उनले नेकपा विभाजनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको भनि आफूले टिप्पणी नगरेको भन्दै खण्डन पनि गरेका छन्।
उनले नेकपा विभाजनमा सचिवालयका सबै सदस्यसहित २ अध्यक्षको अहम भूमिका भएको दाबी गरे। पार्टी विभाजन हुने नै भएपछि केपी ओलीविरुद्ध १९ आरोपपत्र लगाएका र त्यो फिर्ता लिनुस् भन्न आफू प्रचण्डसमक्ष गए पनि सफल नभएको उनले बताए।
उनले त्यसपछि आफू अलग भएको बताए। आफ्नो क्षेत्रको भाग कसरी मिलाउने भन्ने विषयबारे प्रचण्डको हिस्साबाट पाउने उनले टिप्पणी गरे।
‘चुनाव चिह्न लिनका लागि मात्र प्रचण्डलाई जिम्मा दिएको हो,’ उनले भने, ‘ऐन कानुनले कस्तो व्यवस्था हुन्छ त्यही सम्बन्ध हुन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।