काठमाडौं– आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्ढा’ प्रदर्शन भएयता अपेक्षा गरिएजस्तो सिनेमा हलमा प्रदर्शन भइरहेको छैन। भारतमा मात्रै नभएर फिल्म प्रदर्शन भएका अन्य देशमा पनि फिल्मले खासै राम्रो व्यापार गरेको छैन।
एकातिर अभिनेता आमिर खानसँग सम्बन्धित व्यक्तिगत कारण त अर्कातिर फिल्म हलिउडको चर्चित फिल्म ‘फरेस्ट गम्प’को रिमेक भएकाले दर्शकले यसप्रति खास रुचि देखाइरहेका छैनन्। सँगै ‘बोइकट बलिउड’को चेपुवामा पनि आमिरको फिल्म परेको छ।
प्ररिणामका रुपमा फिल्मले चार दिनमा केबल ३८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। फिल्मको निर्मातामध्येका एक आमिर आफैं भएकाले पनि फिल्म असफल हुँदा आमिरलाई आर्थिक रुपमा पनि असर गरेको छ। उनी फिल्मका ‘को–प्रोड्युसर’ हुन्। आमिरले हलिउड फिल्म ‘फरेस्ट गम्प’लाई रिमेक गरेर भारत केन्द्रित बनाउन खोजेको भएपनि प्रदर्शन पछि पाएको प्रतिक्रियाका कारण उनलाई असर परेको छ।
यसबीच फिल्मका वितरकहरुले फिल्मको निर्माण पक्षसँग जरिवानाको पनि माग गरेका छन्। महंगो मूल्यमा वितरणका लागि किनेका वितरकहरुले फिल्मले सोचेभन्दा पनि निकै कम आम्दानी गरेपछि आर्थिक रुपमा भएको नोक्सानीलाई भरपाई गर्न निर्माण पक्षसँग जरिवाना माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।