काठमाडौं–सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड तय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले सत्ता गठबन्धनको कार्यदलले नै अन्तिम प्रतिवेदन निर्माण गरेर शीर्ष तहमा बुझाउन प्रयास गर्ने बताए।
‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं। बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने , ‘सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने छ।’
तर एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने उनले बताए। सिट बाँडफाँटको टुंगो छिट्टै लगाउने उनले जानकारी दिए। ‘हाम्रो तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने कुरा गरिरहेका छौं,’ उनले भने, ‘यही कुरामा केन्द्रित रहेर हामी छलफल गरिरहेका छौं।' उनले अहिलेको गठबन्धन कसैका विरुद्धमा नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।