काठमाडौं– भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका पूर्व मन्त्री एवं सांसद सञ्जय साहको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ। सोमबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माको इजलासले साहको मुद्दामा झगडिया झिकाउने आदेश जारी गरेको छ।
सर्वोच्चको यो आदेशसँगै विशेष अदालतको फैसलाविरुद्ध दायर भएको पुनरावलोकन निवेदनमाथि सुनुवाइ सुरु भएको हो। विशेष अदालतले २०७६ फागुनमा शाहलाई दुवै अभियोगमा दोषी ठहर गरेको थियो। विशेषको उक्त फैसलाविरुद्ध साहका तर्फवाट २०७७ असोज ५ गते पुनरावेदन गरिएको थियो। उक्त मुद्दामा २ वर्षपछि सर्वोच्चले साहलाई झिकाउने आदेश गरेको हो।
शाहलाई मन्त्री र सांसदको हैयिसतमा गैरकानुनी रुपमा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिमानासहित ४ वर्ष कैद सजाय हुने फैसला विशेषले सुनाएको थियो। उनीमाथि जनकपुर बम काण्डको मुद्दा पनि रहेको छ। उनलाई जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरले दोषी ठहर गरिसकेको छ। उनी अहिले पनि जेलमा रहेका छन्।
विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले पूर्वमन्त्री शाहलाई भ्रष्टचारी ठहर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले मन्त्री र सांसद हुँदा आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अभियोगमा २०७५ पुस विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
भ्रष्टाचार मुद्दासँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पूर्वमन्त्री शाहविरुद्ध ३२ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
को हुन् संजय टक्ला?
२०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषा–४ बाट संजय साह पहिलोपटक सांसद निर्वाचित भएका थिए।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट ३ राउण्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यार्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टक्ला’ उपनामले चिनिन्छ। ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधान सभा निर्वाचनका केही दिनअघि मात्र उपेन्द्र यादव नेतृत्वको फोरम प्रवेश गरेका थिए।
फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भए। उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गरेका थिए।
त्यसैगरी, २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा–४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर जित हासिल गरेका थिए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियत पाएका साह दोस्रो पटकको संविधा सभा निर्वाचनमा नेपाली कांग्रेसका धनुषा सभापति तथा पूर्व सभासद रामसरोज यादवलाई पराजित गर्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।