फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न बलियो संयन्त्रको आवश्यकता रहेकाे बताएका छन्।
महामन्त्री थापाले उपत्याकामा फोहोर थुप्रिएर महामारी फैलनसक्ने भन्दै त्यसको दिगो व्यवस्थापनमा गम्भीर बन्नुपर्ने बताए । उनले बलियो संयन्त्र बनाएर अघि बढ्न सुझाउँदै उक्त संयन्त्रमा काठमाडौं र धादिङका सांसदसहितको संयन्त्र बनाएर फोहोर व्यवस्थापनमा सहजीकरण र अनुगमन गर्नुपर्नेमा जोड दिए।
यस्तै सांसद थापाले आवश्यक परेमा प्रधानमन्त्री, शहरी विकासमन्त्रीलगायत सम्बन्धित सबैलाई झकझकाउनुपर्ने बताए । ‘संयन्त्र बनाउँदा डे टू डे काम हुन्छ, नत्र भने संकट पर्दा सम्झौता हुने र त्यसपछि तत्कालै छोडिदिने प्रवृत्ति नै समस्या बनेर अगाडि आइरहने क्रम राेकिँदैन’ महामन्त्री थापाले भने । उनले काठमाडौं महानगरपालिकालाई संघ र प्रदेश सरकारबाट निरन्तर मद्दत गर्नुपर्ने बताउँदै महानगरपालिकाको एकल प्रयासले मात्र केही गर्न नसक्ने बताए।
संघीय सांसद समेत रहेका थापाले स्थानीय वासिन्दाका तर्फबाट पनि कतिपय कुराहरु तुरुन्तै पूरा गर्न सकिने खालका भएपनि कतिपय खराब नियतका मान्छेहरुले स्थानीय निकाय र स्थानीयबीच भएका सम्झौता कार्यान्वयनमा बाधा पुर्याउने गितिविधि भइरहेकाे बताए ।
उनले तत्कालिन सहरी विकासमन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाहबीच समझ्दारी भएको स्मरण गराउँदै समझ्दारी पालना नहुँदा स्थानीय आक्रोशित बनेको बताए।
संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सांसद थापाले भने, ‘म नेपाली कांग्रेसका तर्फबाट महामन्त्री हुँ। म काठमाडौंबाटै सांसद पनि हो । यहाँको फोहोर व्यवस्थापन गर्ने विषयमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने कुरामा मेरो कर्तव्य पनि हो । हामीले यस विषयमा के कति गर्न सकिन्छ भन्ने विषयमा मैले प्रधानमन्त्रीसँग पनि भेटेर छलफल गरेको छु।’
उनले निर्वाचित जनप्रतिनिधिहरुले कसको कुरा बोकिरहेका छन् भन्नेबारे विषयलाई पनि सबै पक्षले ध्यान दिनुपर्ने बताए । काठमाडौं, ललितपुर लगायतका क्षेत्रहरुलाई समेटेर संघको सहरी विकास मन्त्रालयबाट समाधान गर्नेबारे ठोस पहलकदमी आवश्यक रहेकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।