ईश्वर पोखरेल (फाइल तस्बिर)
काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने पोखरेलको तर्क छ।
पार्टी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको जिकिर गरे।
अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने पोखरेलले प्रतिबद्धता व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचनमा पार्टीले जित्ने र टिक्नेहरुलाई मात्रै उम्मेदवार बनाउने बताए।
‘आउने निर्वाचनमा नेकपा एमालेले बहुमतका साथ प्रतिनिधि सभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ। म यो तपाईंहरुलाई बताउन चाहन्छु। अब तपाईहरुको मनमा प्रश्न उठन सक्छ–हिजो स्थानीय तह निर्वाचनमा त भएन नि? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्यौं,’ पोखरेलले भने।
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको उल्लेख गर्दै अब आउने चुनावमा समयमै उम्मेदवारी दिने बताए।
‘अब आउने चुनावमा हामी समयमै उम्मेदवारी दिन्छौं। जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौं। भदौ अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं। अब बस्ने स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ,’ पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।