काठमाडौं– प्रतिनिधि सभाका बैठकहरुमा सांसदहरु उपस्थित भइ हाजिर लगाएर हिँड्ने गर्दा गणपूरक संख्या नपुगेकोप्रति सभामुख अग्निप्रसाद सापकोटाले असन्तुष्टि व्यक्त गरेका छन्। सभामुख सापकोटाले ‘सबैभन्दा माथि छु’ भनेर नठान्न पनि सांसदहरुलाई ‘चेतावनी’ दिए।
सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा विधेयक पास गर्नको लागि धेरैपटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको उल्लेख गर्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए।
संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए।
‘कानून शक्तिशाली हुन, तर्कोचित, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ। हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन। हामीभन्दा माथि पनि कानुन छ,’ सभामुख सापकोटाले भने।
संसद्लाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ? कति मिहेनत र परिश्रम गर्यौ भन्ने कुरा मूल्याङ्कनको विषय भएको सभामुख सापकोटाको भनाइ छ। ‘हाम्रा सबै कुरा जनताले हेरिरहेका छन्। हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि। हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि। हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ,’ सापकोटाले भने।
पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलबार सम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।
सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको पनि बताए। समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने सापकोटाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।