काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा फिर्ता पठाउने कुरा संवैधानिक अधिकार भएको बताएका छन्। संविधानले केही विधेयक प्रमाणीकरण गर्नुपर्ने र केही विधेयक फिर्ता पठाउन पाउने अधिकार दिएको थापाको भनाइ छ।
नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘राष्ट्रपतिले फिर्ता पठाइसकेपछि उक्त विधेयकका बारेमा जुन टिप्पणीहरु छन्, त्यस विषयमा पार्टी भित्र छलफल हुन बाँकी छ।’
पार्टी तथा संसदीय दलसँगै गठबन्धन सरकार भएकाले गठबन्धनका दलहरुसँग छलफल गरेर विधेयकका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिने महामन्त्री थापाले बताए।
राष्ट्रपतिले केही टिप्पणी गरेर पठाइसकेपछि यस सम्बन्धमा दलहरुबीच छलफल गरेर धारणा सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।
महामन्त्री थापाले संविधानले दिएको अधिकार बमोजिम राष्ट्रपतिले विधेयक फिर्ता गरेकाले त्यसलाई फिर्ता गर्नै हुँदैन भन्ने कुरा आफूलाई नलागेको बताए। राष्ट्रपतिले विधेयक फर्काएको कुरालाई स्वीकार गर्ने तर जस्ताको त्यस्तै राष्ट्रपतिलाई पठाउने अधिकार समेत संसद्सँग रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।