काठमाडौं- गठबन्धन गरेर चुनाव लड्दा पनि नेपाली कांग्रेसले सिट बाँडफाँटमा सम्झौता गर्न नहुने कांग्रेसभित्रको आवाजको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएका छन्।
उनले सबै ठाउँमा उम्मेदवारी दिनुभन्दा महत्त्वपूर्ण धेरै ठाउँमा जित्नु रहेको बताए। सोमबार राजधानीमा आयोजना गरिएको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूका लागि २ दिने प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै उनले यसलाई मनन गरेर अघि बढ्नसमेत पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरे।
‘सबै ठाउँमा उम्मेदवारी दिनेभन्दा पनि कति ठाउँमा जित्ने भन्ने कुरा महत्त्वपूर्ण छ,’ देउवाले भने, ‘यस विषयलाई मनन गरेर पार्टीका सम्पूर्ण साथीहरू अघि बढ्न आग्रह गर्दछु।’
नेपाली कांग्रेसको काँधमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको बताउँदै देउवाले ध्यान पनि त्यतै केन्द्रित रहेको बताए। ‘हाम्रो ध्यान आगामी मंसिरमा हुने निर्वाचनमा केन्द्रित छ र यसलाई सफलतापूर्वक सम्पन्न गर्ने नेपाली कांग्रेसलाई जिम्मेवारी छ,’ देउवाले भने।
उनले सिट बाँडफाँटका लागि छलफल चलिरहेको बताउँदै चाँडै निष्कर्षमा पुग्ने बताए। उनले थपे, ‘त्यसका लागि छलफल सुरु गरिसकेका छौं। छिट्टै एउटा निष्कर्षमा पुग्ने छौं।’ स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर सफलता हासिल गरेको स्मरण गर्दै उनले आगामी निर्वाचनमा पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।