काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउंदाे मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेर सफलता हासिल गर्ने बताएका छन्। यस विषयलाई मनन गर्न कांग्रेसका स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे।
नेपाली कांग्रेसले सोमबार राजधानीमा आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई सुरु गरेको २ दिने प्रशिक्षणको उद्घाटन गर्दै देउवाले उक्त धारणा राखेका हुन्।
देउवाले स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सफलता हासिल गरेकोले आगामी निर्वाचनमा पनि सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
‘गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा सफलता हासिल गर्यौं। फेरि गठबन्धन गरेरै सफलता हासिल गर्नु छ। गठबन्धनबाट सफलता हासिल गर्नु पर्ने छ,’ देउवाले भने, ‘त्यसका लागि छलफल सुरु गरिसकेका छौं। छिट्टै एउटा निष्कर्षमा पुग्ने छौं।’
पार्टी सभापति देउवाले उम्मेदवारी दिनेभन्दा पनि जित महत्वपूर्ण रहेको कुरालाई मनन गर्न पनि आफ्ना कार्यकर्तालाई आग्रह गरे।
‘उम्मेदवारी सबै ठाउँमा दिनेभन्दा पनि कति ठाउँमा जित्ने भन्ने कुरा महत्वपूर्ण छ,’ देउवाले भने, ‘यस विषयलाई मनन गरेर पार्टीका सम्पूर्ण साथीहरू अघि बढ्न आग्रह गर्दछु।’
नेपाली कांग्रेसको काँधमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको बताउँदै देउवाले ध्यान पनि त्यतै केन्द्रित रहेको बताए। ‘हाम्रो ध्यान आगामी मंसिरमा हुने निर्वाचनमा केन्द्रित छ र यसलाई सफलतापूर्वक सम्पन्न गर्ने नेपाली कांग्रेसलाई जिम्मेवारी छ,’ देउवाले भने।
आगामी निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले गत वैशाखमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।