काठमाडौं–विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो।
यस्तै, रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जीववल्लभ भट्टराई चयन भएका छन्।
विवेकशील साझाको बागमती प्रदेशकी पूर्वसंयोजक बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार थिइन्। त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। यस्तै संयोजक भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।
बैठकले आउँदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी अद्यावधिक गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।