काठमाडौं–२०७४ सालमा भएको निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस स्वाभाविक रुपमै प्रतिपक्षी भूमिकामा थियो। तर यसैबीच सत्ताधारी पार्टी नेकपामा विवाद आयो र कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिट्ठा पर्यो। उनी पाँचौं पटक प्रधानमन्त्री बन्न पाए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर्याउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश नै जारी गरेको थियो। उनले अघिल्लो वर्ष असार २९ मा सपथ लिए।
देउवाले सपथ लिएको एक महिनामै भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आए। कांग्रेसका तत्कालीन सहमहामन्त्री डा प्रकाशशरण महतको निमन्त्रणामा आएका चौथाइवालेलाई कांग्रेस नेतृ आरजु राणाले बालुवाटारमा राखी बाँधिदिएपछि 'राखी कूटनीति' अपनाइएको भन्दै चर्चा भएको थियो। साथै, हिन्दू परम्परा अनुसार उनीहरुबीच दिदीभाइको सम्बन्ध बनेको बताइयो।
बालुवाटारबाट सुरु भएको सौहार्द्र सम्बन्धले अझै निरन्तरता पाइरहेकै छ। उपचारका लागि असार २६ गते दिल्ली गएकी उनले साउन ११ गते चौथाइवालेसँग भेट गरेकी थिइन्। भेटको फोटो सार्वजनिक गर्दै चौथाइवालेले ट्विटरमा ६ महिनाको अन्तरालमा भेट भएको भन्दै खुसी व्यक्त गरेका थिए। आरजु दिल्लीमै रहेका बेला त्यही पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनको भेट भएको थियो। उनीहरुबीच नेपाली राजदूतावासमा भेट भएको हो।
यी सबै पृष्ठभूमिका कारण दिल्ली पुगेर प्रचण्ड र आरजुले आगामी सत्ता सहयात्राको सहमति गरेको चर्चा भएको थियो। उक्त चर्चालाई भने दुवैले अस्वीकार गरेका थिए। प्रचण्डले त दिल्लीमा सहमति नभएको भन्दै त्यो चर्चालाई कुनै गिरोहले आपराधिक हल्ला गरेको भन्दै खण्डन गरे।
प्रधानमन्त्री कार्यालयमा रहेर राजनीतिक सौदावाजीदेखि शक्तिकेन्द्रसम्म चलखेल गरेको आरोप आरजुलाई छ। हुन पनि प्रधानमन्त्री देउवाको यस कार्यकालमा उनको सक्रियता ह्वात्तै बढेको छ।
आरजुपछि पनि कांग्रेस नेताहरुको भारत भ्रमण बाक्लिन थालेको छ। देउवापछि उक्त गुटको नेतृत्व गर्ने नेताको अभाव पूर्ति गर्न आरजुलाई अघि सारिएको र वैदेशिक सम्बन्ध विकास गर्न थालिएको भन्ने चर्चा भइरहँदा अन्य नेताहरुको भ्रमण पनि निरुद्देश्य पक्कै छैन। खासगरी मंसिर ४ को निर्वाचनलाई जोडेर यस्ता भ्रमणको अर्थ केलाउनुपर्ने कांग्रेस नेताहरुकै जिकिर छ।
आरजु फर्केलगत्तै निधि र सुजाता प्रस्थान
आरजु राणा फर्केको केही दिनमै नेपाली कांग्रेसकी नेता सुजाता कोइराला भारत भ्रमणमा गइन्। कोइरालाले साउन २० गते फेसबुकमा फोटो पोस्ट गर्दै भारत भ्रमणको जानकारी गराएकी हुन्। उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँगको फोटो राखेकी थिइन्। भारतको नोएडास्थित मार्वा स्टुडियोमा आयोजित 'इन्टरनेसनल ओमन्स फिल्म फोरम फेलिसिटेसन सेरेमनी'को प्रमुख अतिथिको रुपमा सहभागी भएकी उनले भाजपाका एक शक्तिशाली नेतालाई भेटेको फोटो सार्वजनिक गर्नु अर्थपूर्ण छ।
भारतमा सुजाताले भाजपाका अन्य नेताहरुलाई पनि भेटेकी थिइन्। पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएकी कोइराला राजनीतिमा छायातिर धकेलिएकी छिन्। महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई अस्वीकार गर्दै प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेकी उनी अहिले पार्टीभित्र प्रभावहीन भएकी छिन्। उनले अबको निर्वाचनमा टिकट पाउने सम्भावना कम छ। यसै सन्दर्भमा कोइरालाले भारत भ्रमण गर्नु अर्थपूर्ण भएको कांग्रेसका एक नेताले टिप्पणी गरे।
भारत भ्रमणबाट फर्केलगत्तै उनले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफू मोरङ- २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुने घोषणा गरेकी छिन्। उक्त क्षेत्र आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएको र उनले आफ्नो उर्वर समय खर्चिएकाले आफ्नो दाबी स्वतः रहने उनको भनाइ छ। उक्त क्षेत्रमा यसअघि मीनेन्द्र रिजालले टिकट पाएका थिए र जित निकालेका थिए। ‘मोरङ-२ सँग मेरो भावनात्मक सम्बन्ध छ', भारतबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले भनेकी थिइन्, ‘त्यो क्षेत्रको विकास नै मेरो जिन्दगीको लक्ष्य हुने छ।’
यसैबीचमा अर्का प्रभावशाली नेता विमलेन्द्र निधिले पनि भारतको भ्रमण गरे। कांग्रेसका पहिलो पुस्ताका नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र पनि पछिल्लो समय कांग्रेसको राजनीतिमा ओझेलमै पर्दै गएका छन्। कम बोल्ने स्वभावका उनी २०७४ सालको निर्वाचनमा धनुषा-३ मा पराजित भएका थिए। एमालेको समर्थन पाएका राजेन्द्र महतोसँग पराजित भएपछि निधि पार्टी राजनीतिमा पनि जम्न सकेनन्। १४ औं महाधिवेशन सभापति उठे पनि प्रभाव देखाउन सकेनन्। बरु दोस्रो चरणमा उनले देउवालाई नै सहयोग गरे। उनी लामो समयदेखि देउवासँगै निकट थिए।
मंसिरमा हुने निर्वाचनमा निधि फेरि धनुषा-३ बाटै निर्वाचनमा होमिने तयारी गरेका छन्। यसपटक जित निकाल्ने र पार्टी र सरकारमा प्रभाव बढाउने उनको तयारी छ।
निधि साउन १३ गते भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा मिथिलाबासीका तर्फबाट राख्न खोजिएको धनुष र कालीगण्डकीको शिलाबाट मन्दिर बनाउने दुई वटा प्रस्ताव बोकेर प्राविधिक टोलीसहित भारत गएका थिए। त्यसक्रममा उनले उल्लेखनीय राजनीतिक भेटघाट पनि गरे।
दिल्लीमा उनले मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोले, भारतका सडक परिवहनमन्त्री नितिन गडकरी, सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले सहितका नेतासँग भेटघाट गरेका थिए। सबै भेटघाटमा नेपालको आन्तरिक राजनीतिका विषयमा कुराकानी नभएको निधि पक्ष निकटका नेताहरु दाबी गर्छन्। तर, आगामी दिनमा आफ्नो प्रभाव बढाउने उद्देश्य थिएन भनेर विश्वस्त हुन सकिँदैन।
भारतका लागि पूर्वराजदूत तथा नेपाली कांग्रेस नेता दीपकुमार उपाध्याय पार्टीको जानकारी बिना हुने यस्ता भ्रमण नै गलत भएको टिप्पणी गर्छन्। नेपाल र भारतका बीचमा खुल्ला सीमा भएको र अरु कार्यक्रममा पनि आउजाउ हुने भएकाले यस्ता भ्रमण स्वाभाविक देखिने र कम चर्चा हुने गरेको भए पनि संस्थागत नहुँदा समस्या हुने उनको बुझाइ छ। ‘कांग्रेसभित्र मात्र होइन, अहिले त अरु पार्टीमा पनि यस्तै भ्रमण सुरु भएको देखिन्छ’, उनले भने, ‘तर यो कुरा संस्थागत हुन जरुरी छ। नत्र यसले पार्टीभित्र हस्तक्षेप सुरु गर्नसक्छ।’
कांग्रेस नेताहरुको पछिल्लो भ्रमण आ-आफ्नो कामले गएको नदेखिएको उनले बताए। उनले पछिल्लो समय कांग्रेसको भारतसँग सम्बन्ध उतारचढाबमा रहेको बताए। कांग्रेसको विगतमा समाजवादी कित्तामा संगत रहँदै आएको तर पछिल्लो समय हिन्दूवादी र भाजपासँग निकट हुँदै गएकोले आफूहरु भारतसँगको सम्बन्धमा संर्घषरत रहेका छौँ भन्ने देखिएको उनको टिप्पणी छ।
‘भारत भ्रमणमा गएको कतिपय कुरामा नेपालमा धेरै चर्चा मात्र हुने गरेको छ’, उनले भने, ‘यसले धेरै फरक पार्ने देखिँदैन। जे गर्ने हो, पार्टीभित्र गर्नुपर्छ। देशभित्र आफूले गर्न नसकेको अवस्थामा विदेशमा सम्बन्ध राम्रो बनाउँदैमा मात्र हुँदैन।’
काग्रेस पार्टीभित्र पनि यस्ता भ्रमणहरुको जानकारी पार्टीलाई गराएर रेकर्ड राखेर जाने परम्परा बसाउने हो भने अनावश्यक शंका र उपशंका गर्ने आवश्यकता नै नपर्ने उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।