काठमाडाौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लक्षित गर्दै जनादेशको अवमूल्यन गर्नेले परमादेशको कुरा गरेको नसुहाउने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले जनताको जनादेशको अवमूल्यन गर्नेले ठूला कुरा गरिरहेको आरोप लगाए।
नेता सिंहले कांग्रेस अरु पार्टीजस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको दाबी गरे। उनले कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको अजेन्डा लिएर जनताको बीचमा जानुपर्ने बताए।
उनले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्न नसकेको दु:खेसो व्यक्त गरे। सिंहले परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउनेगरि छलफल चलाउनुपर्ने सुझाव दिएका छन्।
नेता सिंहले राजनीतिमा परिवर्तन आइसकेकाले अब जनताले अनुभूत हुनेगरि, आम नागरिको जीवन सहज हुने गरि आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्ने बताउँदै कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।