काठमाडौं– मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साह संघीय सरकारविरुद्ध आज आइतबारदेखि धर्नामा बस्ने भएका छन्। प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन लागेका हुन्।
दैनिक दुई घण्टा हुने धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने बताइएको छ। प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मन्त्री साहले बताए।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअगावै प्रहरी समायोजन गर्न दिइएको ध्यानाकर्षणपत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा उनले बताएका छन्।
एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिने मन्त्री साहको चेतावनी छ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ। तर, प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए।
यसअघि सबै प्रदेशका गृहमन्त्रीहरूको भेलाले संघीय सरकारलाई प्रहरी समायोजन ऐन तत्काल जारी गरेर प्रहरीलाई प्रदेश मातहत दिन आग्रह गरेका थिए।
मधेश प्रदेशले प्रहरी समायोजन गर्न ध्यानाकर्षण गराउँदै प्रदेश प्रमुखमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई एक साताअघि मात्र ज्ञापन पत्र बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।