काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर लिएर थप गाडी आज आइतबारदेखि बञ्चरेडाँडा पुग्ने भएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै अवरोध नभए आइतबारदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका छन्। शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताएका छन्।
‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्। शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगे’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने शाह बताउँछन्।
आफूहरूको अन्तिम लक्ष्य कसैले फोहोरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहोर व्यवस्थापन गर्नु रहेको शाहले बताएका छन्।
‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडासम्म पुर्याउन केही समय लाग्न सक्छ। अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यवाद छ’, मेयर शाहले भनेका छन्, ‘थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ। फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।