काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निहारिका राजपूतलाई भेटेका छन्। शनिबार त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिकालाई शाहले भेटेका हुन्।
भेटपछि मेयर शाहले सरकारलाई प्रश्न गरेका छन्। उनले आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे भन्दा पनि एउटी आमाले जल्न तयार हुनुपर्ने भन्दै प्रश्न गरेका हुन्।
उनले यस्तो अवस्थालाई अत्याचारको रुपमा टिप्पणी गरे। मेयर शाहले अभिभावक भनिने राज्यमा यस्तो हुनु नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले भनेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।’
निहारिकाले आफू बलात्कारमा परेको भन्दै बच्चाको डीएनए टेस्ट गरिदिन सरकारसँग माग गरेकी छन्। शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि नियन्त्रणमा लिएर उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।