काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले आफ्नो सबैभन्दा ठूलो चुनौती नै नेताहरुलाई के गरी मिलाउने भन्ने रहेको बताएका छन्।
शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा सम्बोधन गर्दै उनले माओवादीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको बताए।
'अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु। नेताहरु मात्रै मिलाउन सक्ने र एक ढिक्का भएर यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्ने हो भन्ने हो भने जनतामा दुःख छैन। तराई मधेसमा यो बीचमा हजारौंको संख्यामा अरु पार्टीका बुद्धिजीवीहरु, नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन्', उनले भने, 'हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ।
उनले नेताहरुका लागि छानबिन समिति बनाउनुपर्ने अवस्था पैदा भएको बताए। प्रचण्डले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी र माओवादी नेतृत्वप्रतिको विश्वास र भरोसा नटुटेको बताए।
आफू कतार, जापान लगायतका देशमा जाँदा जनताको तहमा आफ्नो पार्टीले खेलको भूमिका, हिजो गरेको त्याग र बलिदानको उचाई, नेतृत्वले विचार निर्माण र विचारको विकासमा खेलेको भूमिका, पार्टीले खेलेको भूमिकाप्रति अगाध आस्था र विश्वास रहेको अनुभूत गरेको बताए।
'कहीँ धरमराएको छ भने नेताहरुमा धरमराएको छ। नेताहरुको एउटा पंक्तिमा चाहिँ विचार र व्यवहारप्रति, नीति र नेतृत्वप्रति विश्वास धरमराएको देखिन्छ। नेताहरु ढिक्का भएर जाने हो भने जनता जुरुक्कै स्थिति अहिले पनि देख्छु मैले', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।