काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले विभिन्न ५ निर्णय गरेको हो।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिएको छ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरिएको छ।
‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देश गर्ने,’ निर्णयमा भनिएको छ।
कांग्रेसले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियानको मिति परिवर्तन गरेको छ। यसअघि भदौ २ गतेदेखि सो अभियान सञ्चालन गर्ने भनिए पनि कार्य सम्पादन समितिले भदौ १० गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।