काठमाडौं– देशभरका ७५३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७९/८० का लागि ६९० स्थानीय तह (पालिका)हरुले मात्रै बजेट विवरण पेस गरेका छन्।
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट विवरण पृविष्ट गरिसकेका छन्। तर, मधेस प्रदेशका मात्रै ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन्। मधेस प्रदेशमा कुल १३६ पालिका रहेकामा ३९ वटा पालिकाले बजेट विवरण पेस नगरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश १ मा ३, बागमतीमा ४, लुम्बिनीमा १०, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ४ स्थानीय तह छन्।
बजेट प्रविष्ट नगरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण प्रविष्ट गर्न परिपत्रमार्फत निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए।
देशका ७५३ पालिकामध्ये हालसम्म विभिन्न ६३ स्थानीय तहले चालु आवका लागि बजेट विवरण पेस नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख उपसचिव रेशम कँडेलले जानकारी दिए। मन्त्रालयको सूत्रमा प्रविष्ट गरेपछि चालू आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुन्छ।
कानुनतः स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ। स्थानीय तहबाट आव २०७९/८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्यरूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककाहरूलाई पत्राचार गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।