काठमाडौं– आगामी प्रदेश र संघको निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन माग गरिएको छ। राजनीतिक दलका महिला नेतृहरुले निर्वाचनमा समावेशी सिद्धान्तका आधारमा समानुपातिक सहभागिता गराउन जोड दिएका छन्।
अघिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसद चुनिन नसक्नु राजनीतिक दलहरुले महिलाप्रति विश्वास गर्न नसक्नुको परिणाम भएको महिला सांसदहरुको गुनासो छ।
महिलालाई प्रत्यक्षतर्फ प्रतिस्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्नु उनीहरुको माग छ। प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको गुनासो गरिन्। उनले अझै पनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको दाबी गरिन्।
महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ। उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताइन्।
त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भनेर दाबी गर्नुपर्ने बताइन्। अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने उनले माग गरिन्।
उनले संविधान रक्षाका लागि बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले साँच्चीकै संविधान रक्षा गर्ने हो भने संविधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन्। एक तिहाई निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने उनको भनाइ छ। अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाबाट काम गर्न सकिने उनले बताइन्।
त्यस्तै नेपाली कांग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनै पनि राजनीतिक दलले ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनै पर्ने बताइन्। उनले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिस्पर्धामा उतार्नु नहुने बताइन्।
समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भए पनि महिलालाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरुले कदम चाल्नुपर्ने उनको भनाइ छ। अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।