काठमाडौं– न्यायका लागि लामो समयदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएकी निहारिका राजपूतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्।
शुक्रबार दिउँसो करिब सवा ३ बजे ट्याक्सी चढेर शीतल निवास पुगेकी उनले सडकमै आफ्नो जीउमा पेट्रोल छर्केर आगो लगाउन लागेकी थिइन्। सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरेका कारण उनले आफ्नो जीउमा आगो लगाउन पाइनन्।
पछिल्लो समय उनी १ हप्तादेखि आमरण अनसनमा थिइन्। काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी उनी शुक्रबार आत्मदाह गर्ने भन्दै शीतल निवास पुगेकी थिइन्।
शीतल निवासबाट उद्धार गरेर उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन्। त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन तोडेकी थिइन्।
तर, सरकारले आफूसँग भएको सहमतिको पालना नगरेको भन्दै उनी साउन २० गतेबाट पुन: अनसनमा बसेकी थिइन्।
उनले बच्चाको डिएनए जाँच गर्नुपर्ने, बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने, बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।