काठमाडौं- काठमाडौं महानगरपालिकाको बिहीबारको बैठक फोहोर व्यवस्थापनमा केन्द्रित भएको छ। शुक्रबारदेखि गाइजात्रा सुरु हुने भन्दै राति नै अस्थायी व्यवस्थापनको माग गरिएको छ।
मेयर बालेन शाहले राखेका अजेन्डालाई पन्छाउँदै पहिले फोहोर व्यवस्थापनको विषय टुंग्याउनुपर्ने बैठकमा बोल्ने अधिकांशले बताएका थिए। त्यसपछि छलफल फोहोर व्यवस्थापनमा केन्द्रित भएको हो।
कतिपय वडाध्यक्षहरुले मेयर शाहले टिमवर्कमा विश्वास नगर्दा समस्या भएको आरोप लगाए। वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले भने, ‘मेयरसाब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन–कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ। आफ्नो टिमलाई लिएर जानुभएको छ?’
अर्का वडाध्यक्षले फोहोर आज र अहिल्यै उठाउनुपर्ने बताए। उनले भने, 'भोलि जात्रा छ। हामीले के गर्ने हो गर्छौं। तर फोहोर उठाउँ।' कोर एरियामा ठाउँ नभएको बताउँदै अस्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ दिनसमेत कतिपय वडाध्यक्षको माग थियो।
यस्तै ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले संघीय सरकारप्रति आक्रोश पोखे। काठमाडौंबासीलाई नर्कमा राख्न खोजिएको आरोप लगाउँदै बागमतीमा फोहोर फाल्ने प्रस्ताव राखे।
उनले भने, 'बञ्चरेडाँडा दिँदैन, सिसडोल पनि दिँदैन। त्यसोभए शंखमुलदेखि टेकुसम्म बागमतीमा फालौं। आजैबाट बागमतीको पुलबाट फोहोर फाल्ने हो।' उनले मुख्य सडक वा टुँडिखेलमा फोहोर थुपार्नुपर्ने अवस्था आएकोसमेत बताए।
उपमेयर सुनिता डंगोलले फोहोरको समस्याको अपजश महानगरले लिनुपर्ने बताउँदै व्यवस्थापनमा जोड दिइन्। जात्राको समय भएकाले यसमा थप संवेदनशील हुनुपर्ने धारणा राख्दै भनिन्, 'भोलिसम्म अल्पकालीन रुपमै बाटो देखाउन नसक्ने हो भने त्यसको भागिदार हामी नै हुनुपर्छ। हाम्रो ध्यान गएको छ। प्राथमिकतामै राख्दा पनि समस्या आइरहेको छ।'
मेयर शाहले महानगरकका गाडी र मसिनरी तोडफोड भएको तथा बाटो बनाइरहेका कारण फोहोर व्यवस्थापनमा समस्या आएको स्पष्ट पारेका थिए। बर्खा भएका कारण भनेको समयमै बाटोको काम पूरा नहुँदा थप समस्या परेको उनको भनाइ थियो। शुक्रबारदेखि एकतर्फी बाटो खोलेर फोहोर व्यवस्थापन गर्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।