काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरका सन्दर्भमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा आईजी सिंहले सीसीटीभी फुटेज प्राविधिक विषय भएकाले त्यसबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सम्बन्धमा छानबिनका क्रममा सीसीटीभी फुटेज माग गरिएको थियो। अर्थ मन्त्रालयले सीसीटीभी फुटेज स्वत: मेटिएको जवाफ पठाएपछि रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो।
तर, रिकभर भएको फुटेज ब्लर (अस्पष्ट) भएको भन्दै संसदीय छानबिन समितिले त्यसबाट कुनै निष्कर्ष निकाल्न नसकिने ठहर गरेको थियो।
बिहीबार आईजीलाई पत्रकारहरुले सीसीटीभी फुटेज किन ब्लर (अस्पष्ट) पठाइएको? भनेर प्रश्न सोधेका थिए। आईजी सिंहले त्यसको जवाफ आफूसँग नभएको प्रतिक्रिया दिए।
‘जवाफ मसँग छैन। म अनुसन्धान गर्ने मान्छे हो, तर प्राविधिक विषयमा सबै ज्ञान हुँदैन,’ आईजी सिंहले भने, ‘फरेन्सिक युनिट छुट्टै हुन्छ। त्यसबारे मलाई थाहा भएन। यो विषयमा सम्बन्धित विज्ञलाई नै सोध्नुपर्छ। अहिले म भन्न सक्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।