काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि क्षेत्रमा धेरैको संलग्नताका कारण पनि चाहिएजति उत्पादन नभएको टिप्पणी गरेका छन्। बुधबार कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका छन्।
उनले नेपालको कृषि क्षेत्रमा संलग्न रहेको संख्यालाई घटाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले उत्पादन बढाउनका लागि अहिले रहेको ६० प्रतिशतको संलग्नतालाई घटनाएर ६ प्रतिशतमा झार्नुपर्ने बताए।
उनले भने, ‘१० प्रतिशत जनसंख्या मात्रै कृषिमा आधारित भयो भने अहिलेको भन्दा चार गुणा उत्पादन बढाउन सकिन्छ। राष्ट्रिय उत्पादनमा वृद्धि गर्दै उधोगधन्दा लगायतका अरु क्षेत्रमा लगानी गर्नुपर्छ।’
यस्तै ओलीले विषाधीयुक्त खानाकै कारण मानव शरीरमा गम्भीर समस्या उत्पन्न हुने बताएका छन्। मिर्गौला फेल हुनेजस्तो गम्भीर समस्या पनि विषादीयुक्त खानाकै कारण निम्तिने उनको भनाइ छ। उनले विषादी प्रयोग भएको खानाको उपभोगले नै क्यान्सर, मिर्गौला फेल हुने र अन्य गम्भीर खालका स्वास्थ्य समस्या निम्तिने बताए।
उनले केही पैसाको लोभमा उत्पादकले उपभोक्तालाई थाहै नहुनेगरी हानिकारक विषादी प्रयोग गरी बिक्री गर्ने गरेको बताए। उनले मानव शरीरलाई स्वस्थ बनाउन र गम्भीर प्रकारका रोगबाट बचाउन अर्गानिक उत्पादनमा जोड दिन कृषि वैज्ञानिकलाई अनुरोध गरे। जडीबुडीलाई समेत विषादीका रुपमा प्रयोग गर्ने गरिएको ओलीको भनाइ छ।
‘अर्गानिक फिल्ड छैन भने, स्वच्छ माटो छैन भने त्यस्तो ठाउँमा जडीबुटीको खेती पनि गर्न हुँदैन। खाद्य पदार्थ उत्पादनमा कृषि वैज्ञानिकले धेरै उत्पादन मात्रै होइन, स्वस्थ उत्पादनका लागि पनि ध्यान दिनुपर्छ’, उनले भने।
सागसब्जीमा विषादीको मात्रा बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा ओलीले जोड दिएका छन्। उनले भने, ‘मृत्यु भइसकेपछि प्रजनन् हुँदैन। हाम्रो माटो मृत्युतर्फ जाँदैछ। माटोलाई मृत्युको मुखमा जान नदिन विषादी प्रयोगलाई रोक्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।