काठमाडौं– पाँचदिने भ्रमणमा साउन २१ गते जापान पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमणले नेपाल र जापानको सम्बन्धमा नयाँ परिस्थितिको सिर्जना भएको बताएका छन्।
स्वदेश फर्कनेक्रममा बुधबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग आफ्नो भ्रमण बारे जानकारी दिँदै उक्त कुरा बताएका हुन्। जापान पहिलो चोटी जान मौका मिलेको भन्दै प्रचण्डले यो राम्रो भएको पनि बताएका छन्।
‘पहिलोपटक जापान गएको राम्रो भयो,’ प्रचण्डले भने,‘जापान भ्रमणले नेपाल–जापानको सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको छ।’ यस्तै, प्रचण्डले आफ्नो जापान भ्रमणको क्रममा त्यहाँको कृषि प्रविधि त्यस्तै सूचना सम्बन्धिको प्रविधिबारे केहि अध्ययन पनि गरेको र नेपालको लागि त्यो अनुकरणिय रहेको बताएका छन्।
‘कृषि प्रविधिसम्बन्धी ज्ञान तथा सूचना प्रविधिबाट कसरी लाभ लिन सकिन्छ भनेर अध्ययननै गर्यौं। यसबाट हामीले धेरै लाभ लिन सक्छौं,’ प्रचण्डले भनेका छन्।
प्रचण्डले जापानमा त्यहाँको सत्तारुढ दलको नेता र सांसदलाई भेटेको र सहयोगको आदन–प्रदानबारे पनि छलफल भएको बताएका छन्। त्यस्तै, उनले आसन्न निर्वाचनमा परवेक्षणका लागि निम्ता पनि गरेको बताएका छन्।
‘जापानका एक सांसद र वरिष्ठ नेतासँग पनि औपचारिक रुपमा छलफल भयो। दुई पक्षीय सम्बन्धबारे छलफल भएको हो। जापानले गर्दै गरेको सहयोगको लागि धन्यवाद र आगामी निर्वाचनमा परवेक्षणका लागि निम्तो पनि गरेको छौं,’ प्रचण्डले भने, ‘त्यस्तै फोहोर व्यवस्थापनलगायत विद्युत्, कृषि, पूर्वाधारका क्षेत्रमा सहयोगको पनि माग गरेका छौं।’
यस्तै प्रचण्डले प्रतिपक्ष दल नेकपा एमालेका सचेतक विशाल भट्टराईसँग आफूले जापानमा डिनर गरेको बताएका छन्। माओवादी निकट संगठनको निम्तोमा जापान गएका प्रचण्डलाई एक पत्रकारले सोही सम्बन्धी प्रश्न सोधेपछि त्यस्तो केही नभएको र सबै नेपालीसँग भेट गरेको बताउँदै उक्त प्रसङ्ग बताएका हुन्।
‘लोकतन्त्रमा स्वच्छ वातावरणमा बहस छलफल हुन्छ। हिजो साँझ मात्रै हामीले एमालेका सचेतक विशाल भट्टराईसँगै बसेर डिनर गर्यौं,’ प्रचण्डले भनेका छन्। छुट्टै प्रसङ्गमा प्रचण्डले पदाधिकारीको विषय छिट्टै टुंग्याउने बताएका छन्।
उनले राष्ट्रपतिले छिट्टै नागरिकता विधेयेक जारी गर्ने पनि विश्वास लिएका छन्। प्रचण्डको स्वागतमा नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता विमानस्थल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।