काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समितिका सदस्यहरुसँग सहजीकरण बैठक गरेका छन्। बुधबार वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा भएको बैठकमा सभामुखले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगमा अनुसन्धान गर्न गठित महाभियोग सिफारिस समितिलाई आफ्नो काम अगाडि बढाउन आग्रह गरेका थिए।
'कार्यविधि बनाएर काम गर्नका लागि तपाईंहरु स्वायत्त हुनुहुन्छ। त्यसैले काम अगाडि बढाउनस्। समयमै सक्नुहोस्। मेरो शुभकामना छ', सभामुखको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, 'आवश्यक परे सबै सहयोग गर्न सभामुख र उपसभामुखको तर्फबाट हामी तयार छौं।'
बैठकमा समितिका सदस्यहरुले पनि धारणा राखेका थिए। उनीहरुले आफूहरुले छिट्टै बैठक राख्ने र समय कम भए पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्ने बताएका थिए।
अनौपचारिक भनिएको सो बैठकमा समितिका ११ मध्ये काठमाडौंमा उपलब्ध ८ सदस्य सहभागी थिए। शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, यशोदा गुरुङ, रेखा शर्मा, एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, कल्याणी खड्का लगायत सहभागी थिए।
बैठकमा सभामुख सापकोटा, उपसभामुख पुष्पा भुसाल, संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सिफारिस समितिका लागि तोकिएका सचिव लक्ष्मीप्रसाद गौतम र कर्मचारीहरु पनि सहभागी थिए। महासचिव गौतमले सिफारिस समितिका सदस्यहरुलाई समितिका लागि तोकिएका सचिव र कर्मचारीहरुको विषयमा जानकारी गराएका थिए।
गत फागुन १ गते सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएका छन्। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।
प्रतिनिधि सभाको फागुन २२ गतेको बैठकबाट 'महाभियोग सिफारिस समिति' गठन गरेको थियो। प्रतिनिधिसभाको त्यस दिनको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरिएको थियो।
समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्। त्यस्तै, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन्। माओवादी यसोदा सुवेदी र रेखा शर्मा छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन्।
गत आइतबार मात्रै प्रतिनिधि सभा बैठकमा महाभियोग प्रस्तावमाथि छलफल भएको थियो। त्यसपछि आवश्यक अनुसन्धान र सिफारिसका लागि सो प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।