काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यो गठबन्धनमा आफूहरुको पनि हक लाग्ने दाबी गरेका छन्।
प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास पुगेका भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेर गठबन्धन निर्माण गर्ने समयमा आफ्नो भूमिका रहेको भन्दै हक दाबी गरेका हुन्।
उनीसँग भेट्न सांसद महिन्द्र राय यादव पनि पुगेका थिए। सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेकोले उनी भेट्न पुगेका थिए।
जनता समाजवादी पार्टीमा रहेका उनी उक्त पार्टी छोडेपछि अहिले नयाँ दल निर्माणमा रहेका छन्। उनीले हालै मात्र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन्।
उनी गोरखावाट २०७४ सालको निर्वाचनमा नेपाली काग्रेसको सर्मथनमा निर्वाचित भएका थिए। कांग्रेसको गठबन्धनमा उनले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।
उक्त क्षेत्रमा फेरि पनि निर्वाचन उठ्नुपर्ने भएकाले भट्टराईले त्यसअघि प्रधानमन्त्रीसँग आफ्नो दाबी पेस गरेका हुन्। उक्त निर्वाचन क्षेत्रमा फेरि पनि माओवादी केन्द्रसँग प्रतिस्पर्धा हुने र सत्ता गठबन्धनभित्र माओवादी पनि रहेकाले आफू अप्ठारोमा पर्ने देखेका भट्टराईले प्रधानमन्त्रीसँग हकको दाबी गरेका हुन्।
प्रधानमन्त्री देउवाले भेटमा आफूले ‘गठबन्धनभित्र तपाईंहरु पनि सहभागी भएर जानुपर्ने सोचिरहेको’ बताएका थिए। प्रधानमन्त्रीले आफू एकपटक गठबन्धनका अन्य दलसँग पनि कुरा गर्ने बचन दिएको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले बताए। छलफल सकारात्मक भएको र केही दिनमा फेरि छलफल गर्ने वचन प्रधानमन्त्रीले दिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।