काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्।
सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन्।
एम ४९५०८९५ वाहक ४२ वर्षीय हारोलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले साउन ११ गते पक्राउ गरेको थियो। विमानस्थलबाट अवैध रूपमा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन हारोनबाट बरामद भएको थियो।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याएको सुनसहित फेला पारी पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।