काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोन छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले बुधबार बिहान पक्राउ परेको हो।
विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन हारोनबाट बरामद भएको छ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याएको सुनसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।