काठमाडौं– यो प्रविधिमैत्री समयमा नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा के राखेको होला? यसको स्थापनाकालदेखिका दस्तावेज, यो पार्टीसँग जोडिएका र समकालीन समयका उच्चतम रचना तथा प्रकाशन, दलबाट निर्वाचित सांसद तथा केन्द्रीय समितिका विवरण र अन्य महत्वपूर्ण सामग्रीहरू।
तर, तपाईंले कांग्रेसको आधिकारिक वेबसाइटबाट त्यस्तो केही पाउनु हुन्न। पछिल्ला ४–५ वर्षका केही गतिविधि र दस्तावेज नभएका हैनन् तर स्थापना भएको ७० वर्षभन्दा लामो समय भएको पार्टी र प्रजातन्त्र, लोकतन्त्रका लागि योगदान गरेको पार्टी, संसदीय निर्वाचनमा २०१५ बाटै सहभागी भएर ठूलो पार्टी बनेर सत्ता सञ्चालन गरेको पार्टीको वेबसाइटमा त्यसको कुनै जानकारीमूलक सामग्री पाउन सक्नु हुन्न।
तर, कांग्रेसले आफ्नो वेबसाइट भ्रमण गर्नेलाई आठवटा पुस्तक भने पढाउँछ। कांग्रेसले आफ्नो वेबसाइटमा अनलाइन पुस्तकालय भनेर एउटा शाखा बनाएको छ। तपाईं त्यहाँ प्रविष्ट गर्नुभयो भने ति पुस्तक भेट्नुहुन्छ।
कांग्रेससँग सम्बन्धित कुनै पुस्तक नभए पनि आफ्नो वेबसाइटमा कम्युनिस्टहरूको महत्वपूर्ण मध्येको माक्र्स र एंगेल्सले लेखेको कम्युनिस्ट घोषणापत्र भने राखेको छ।
बाँकी सातवटामा बाराक ओबामाको ‘ड्रिम्स फ्रम माई फादर’, अमत्र्य सेनको ‘दी आइडिया अफ जस्टिस’, लक्ष्मीप्रसाद देवकोटाका शाकुन्तल महाकाव्य र मुनामदन र विश्वेश्वर प्रसाद कोइरालाका सुम्निमा, दोषि चस्मा र श्वेतभैरवी रहेका छन्।
रोचक त के छ भने यो वेबसाइटमा एकै दिन २०७७ भाद्र २४ गते बुधबार यी ८ वटा पुस्तक हालिएको देखिन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।