काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद रामकुमारी झाँक्रीले प्रत्यक्षबाट नउठाएर समानुपातिकतर्फ ल्याएर क्षतिपूर्ति दिने परम्परा अन्त्य हुनुपर्ने बताएकी छन्।
झाँक्रीले सांसद अमृता थाापसहितले पेस गरेको ध्यानाकर्षण प्रस्तावको छलफलमा भाग लिँदै अब महिलालाई पनि प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन दलहरुले अवसर दिनुपर्ने तर्क गरिन्।
‘समय समयमा यस्ता बहस भइरन्छन् तर पानीका फोका झै हराउने गरेका छन्,’ उनले भनिन्, ‘इतिहास जित्नेहरुको लेखिन्छ त्यसैले यस्ता बहसहरुमा जित्ने प्रयास गरिनुपर्छ।’
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आफू नभएको भन्दै संविधान फेर्न नभई कानुन बनाउनतिर लाग्नुपर्ने बताइन्। उनले उम्मेदवारी दिँदा समानुपातिक र समावेशी कुरा गर्दै उम्मेदवार खडा गर्ने मिठा कुरा दलहरुले गर्ने तर प्रत्यक्षमा नउठाउने अभ्यास हुँदै आएको बताइन्।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार नै खडा नगर्ने अनि समानुपातिकतिर क्षतिपूर्तिको रुपमा पूर्ति गर्ने गर्दा महिलामाथि हेला गरेको जस्तो देखिएको उनले टिप्पणी गरिन्।
प्रत्यक्षबाट जितेर आउनेले धेरै खर्च गरेर आउने अनि समानुपातिकले गर्न नपर्ने भन्ने मानक नै फेर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। सांसद झाँक्रीले दलहरुको विधानहरुलाई लैङिक अडिट गर्ने परम्परा सुरु हुनुपर्ने माग गरिन्।
‘दललाई जवाफदेही नबनाई हुँदैन। सरकारलाई मात्र हैन सरकार चलाउने दलहरुलाई जिम्मेवार बनाउने निर्देशन गराउनुपर्ने छ,’ उनले भनिन्, ‘ यसका लागि संविधानलाई फेर्ने होइन कानुन सुधार गर्नेतिर लाग्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।