काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको जानकारी दिए।
छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। उनले जसपासँगसँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिनाइ नरहेको स्पष्ट पारे।
उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छौं। गठबन्धनको सवाल पनि उठिरहेको छ। तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ। कुरा पनि भइरहेको छ। चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं। छैठौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौं। जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन। सरकारको कुरा पनि भइरहेको छ।’
उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।