काठमाडौं– आम निर्वाचनको मिति घोषणा भइसक्दा पनि चलिरहेको संसद् (प्रतिनिधि सभा) बैठकमा अहिले महिला सांसदहरुले दर्ता गराएको विशेष सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइरहेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमा महिलाको प्रतिनिधित्व संकुचित हुँदै गएपछि महिला सांसद्हरुले निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत् (समावेशी) बनाउन निर्देशन दिनुपर्ने भन्दै संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थिए।
उक्त प्रस्तावमाथि मंगलबारदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको छ। छलफलका क्रममा सांसदहरुले महिला प्रतिनिधित्व बढाउन कानुनी व्यवस्थामा गरिनुपर्ने परिमार्जनका कुराहरु उठाएका छन्।
महिला प्रतिनिधित्व संकुचित हुँदै जानुमा कानुनी व्यवस्था मात्रै नभएर पुरुष नेताहरुको सोच र प्रवृत्ति पनि जिम्मेवार रहेको महिला सांसदहरुको भनाइ छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले एउटा नेता उही निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने अवस्थाको अन्त्य गर्न माग गरिन्। यही मंसिरमा हुने निर्वाचनअघि नै त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
संसद्मा ध्यानाकर्षण प्रस्ताव पेस गर्दै उनले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्दा यसलाई ध्यान दिनुपर्ने बताइन्। ‘संघीय संसद्को प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने (प्रत्यक्ष) दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत् निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ। अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्नुपर्ने अवस्थाको छ, यसको अन्त्य हुनुपर्छ,’ सांसद पाण्डेले भनिन्।
यदि कोही नेतालाई सांसद बनाउनैपर्ने भए फरक निर्वाचन प्रणाली र फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ।
विगत ३०/३१ वर्षदेखि निर्वाचन क्षेत्र ‘कब्जा’ गरेर बसेका नेताहरुका कारण महिलासँगै नयाँ ‘अनुहार’ले मौका नै नपाउने अवस्था सिर्जना भएकोप्रति संसद्सँगै सामाजिक सञ्जालमा पनि बहस चलिरहेको छ। सामाजिक सञ्जालमा त अहिले केही शीर्ष (प्रधानमन्त्री भइसकेका) नेताहरुलाई अबको चुनावमा ‘हराउने’ अभियान चलिरहेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत बहुदलपछि निरन्तर सांसद बन्ने वा बन्ने प्रक्रियामा सहभागी रहेको देखिन्छ। उनीहरु मात्रै होइन, अन्य २८ जना नेताहरु पनि छन्, जो २०४८ सालमै सांसद बनेका थिए। यसपल्ट पनि उनीहरु फेरि सांसद बन्ने तयारी गरिरहेका छन्। दुईपटक मात्रै एउटै निर्वाचन क्षेत्र र प्रणालीबाट सांसद बन्ने कानुन बनेको अवस्थामा भने अहिलेका धेरै नेताहरुले बिदा लिनुपर्ने देखिन्छ।
जो ०४८ सालमै ४० कटेका थिए
आगामी निर्वाचनमा सांसद बन्न उम्मेदवार बन्नेहरुमध्ये सवैभन्दा पाको उमेरका दुईजना हुनेछन्। तनहुँ क्षेत्र नं १ बाट फेरि चुनाव लड्ने तयारी गरिरहेका रामचन्द्र पौडेल सोही क्षेत्रबाट २०४८ सालमा सांसद जित्दा ४८ वर्षकै थिए। सोही उमेरका अर्का सांसद थिए महन्थ ठाकुर। हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रहेका उनी फेरि सांसद बन्ने तयारीमा छन्।
सांसद मात्रै नभइ प्रधानमन्त्री नै फेरि बन्ने तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट पहिलोपटक सांसद बन्दा ४४ वर्षकका थिए। त्यसैगरी इलामबाट फेरि सांसद बन्ने तयारी गरिरहेका झलनाथ खनाल ४० वर्षमा पहिलोपटक सांसद बनेर प्रतिनिधि सभामा पुगेका थिए। हाल राष्ट्रिय सभा सदस्य रहे पनि फेरि चुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने तयारीमा रहेका बामदेव गौतम ४३ वर्षको उमेरमा बर्दिया १ बाट निर्वाचित भएका थिए।
जो ३० वर्षमै सांसद भए, ३१ वर्षपछि पनि दाबी
फेरि सांसद बन्ने तयारीमा रहेका नेताहरु यस्ता पनि छन्, जो आफू ३० वर्षमै सांसद भएका थिए, तर ३१ वर्षपछि ‘बाटो छाड्ने’ मनस्थितिमा छैनन्।
वर्तमान गृहमन्त्री वालकृष्ण खाँण ०४८ सालमा रुपन्देही ३ बाट निर्वाचित हुँदा जम्मा ३० वर्षका थिए। त्यसैगरी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ पाँचथर १ बाट ३० वर्षमै निर्वाचित भएका थिए भने कैलाली क्षेत्र नं ३ बाट फेरि सांसद बन्ने तयारीमा रहेका कांग्रेस नेता रामजनम चौधरी पनि ३० वर्षकै थिए।
यसैगरी पूर्वमन्त्री थममाया थापा पनि २०४८ सालमा सांसद बन्दा ३० वर्षकै थिइन्। पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुर २ बाट जित्दा उमेर ३० वर्ष नै थियो। आगामी निर्वाचनबाट फेरि सांसद बन्ने तयारीमा रहेका एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर धादिङ २ बाट चुनाव जित्दा तत्कालीन अवस्थामा सबैभन्दा कम उमेरका अर्थात् २९ वर्षका थिए।
३० वर्ष कटेका, ४० नपुगेका
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालमा झापा ६ बाट चुनाव जित्दा ३८ वर्षका थिए। उनी फेरि झापा ५ बाट उम्मेदवार बन्नेछन्। कृष्णबहादुर महरा संयुक्त जनमोर्चाका तर्फबाट रोल्पा २ बाट चुनाव जित्दा जम्मा ३२ वर्षका थिए। अहिले दाङ २ बाट उनी फेरि उम्मेदवार बन्ने दौडमा छन्।
विजय गच्छदार पहिलफपटक ३७ वर्षको उमेरमा सांसद भए। विजय सुब्बा ३३, राजेन्द्र पाण्डे ३५, लालबाबु पण्डित ३२ वर्षको उमेरमा सांसद भए। यसैगरी, वर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू ३२, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का ३२, स्वतन्त्र सांसद रहेका छक्क लामा ३३ वर्षकै उमेरमा सांसद भएका हुन्।
हृदेयश त्रिपाठी नवलपरासी ३ बाट २०४८ सालमा सांसद बन्दा ३१ वर्षका थिए।
२०४८ सालमा राष्ट्रिय सभामा, अहिले प्रतिनिधि सभामा
फेरि प्रतिनिधि सभामा प्रतिष्पर्धा गर्ने लाइनमा रहेका केही नेताहरु २०४८ सालमै राष्ट्रिय सभामा पुगिसकेका थिए। एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल राष्ट्रिय सभामा थिए।
यसैगरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, माओवादी केन्द्रका नेता रामेश्वर राय यादव र नेपाली कांग्रेसका नेता महेश आचार्य यसपल्ट फेरि प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नेछन्। उनीहरु २०४८ सालमै राष्ट्रिय सभा सदस्य भइसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।